News

भारतीय पृथक्तावादी नेता अमृतपाल आत्मसमर्पण गर्न तयार, अन्तिम लोकेसन नेपाल

आत्मसमर्पणका लागि राखे तीन सर्त

भारतीय पृथक्तावादी नेता अमृतपाल आत्मसमर्पण गर्न तयार, अन्तिम लोकेसन नेपाल

स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंहले आत्मसमर्पण गर्ने तयारी गरेका छन्। उनको अन्तिम लोकेशन नेपालमा भएको दावी भारतीय सञ्चार माध्यमले गरेका छन्। 

पन्जाबको खुफिया एजेन्सीको दावी अनुसार सञ्चार माद्यमले सिंह नेपालमै भएको वताएका हुन्। यद्यपी उनले पन्जाबमै आएर आत्मसमर्पण गर्न चाहेको जनाईएको छ। समाचारमा ‘वारिस पन्जाब दे’ का मुख्य कमाण्डर सिंहलाई पक्राउ गर्न भारतीय प्रहरीको टोली पुगिसकेको र नेपाल प्रहरीको सहयोगमा केही स्थानमा छापा मारेको दाबी गरिएको छ।

भारत सरकारको अनुरोधमा नेपाल भित्रिने र बाहिरिने नाका, होटल र प्रहरी चौकीहरुमा सिंहको हुलिया पठाइएको बताइएको छ। सिंह भने आत्मसमर्पण गर्न तयार रहेको खबर बाहिरिएको छ। तर उनले त्यसका लागि सरकारसँग तीनवटा माग राखेका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार प्रहरी हिरासतमा कुटपिट नगर्न, पन्जावकै जेलमा राख्ने व्यवस्था मिलाउन र आत्मसमर्पणलाई पक्राउ नभन्न उनले सर्त राखेका हुन्।

१८ मार्चबाट फरार भएका सिंहको खोजी उत्तराखण्डको उद्यमसिंहनगर र पिथौरागढसम्म भइरहेको छ। नेपालस्थित भारतीय राजदूतावासले त नेपालमै हुनसक्ने आशंका गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सार्वजनिक भइसकेको छ।

उनी अमृतसरमा रहेको गोल्डन टेम्पलको श्री अकाल तख्त साहिब वा बठिंडाको तलवंडी साहिबस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्न सक्ने आकलन भारतीय प्रहरीले गरेको छ।

प्रहरीले यी दुवै स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ। दुवै सहरहरुमा नाकाबन्दी गरेर सवारीसाधनहरुको सघन जाँच गरिरहेको छ। केही धार्मिक नेताहरु उनको आत्मसमर्पणमा मध्यस्थता गरिरहेको खबर पनि बाहिरिएको छ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।

३० वर्षीय अमृतपाल सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ। त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ।

अमृतपाल सिंह खालिस्तान

विशेष