News

रामनवमी पर्व धूमधामका साथ मनाइँदै

रामनवमी पर्व धूमधामका साथ मनाइँदै

आज देशभर रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ। भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिकै दिन भएको स्मरणमा प्रत्येक वर्ष रामनवमी पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ।

विशेषगरी जनकपुरमा रामनवमी पर्वको उल्लास धेरै छ। जनकपुरधाममा भगवान् रामको ससुराली रहेकाले पनि यहाँ यस पर्वको महत्व विशिष्ट छ। उनको विवाह मिथिला नरेश जनककी पुत्री सीतासँग भएको थियो। भगवान् राम विवाहका लागि विश्वामित्र ऋषिसँगै जनकपुरधाम आएका थिए।

जानकीसँगको पहिलो भेट गिरिजा स्थानमा भएको थियो। स्वयम्बर रंगभूमि मैदानमा र विवाह मणि मण्डपका अवशेष अहिले पनि मिथिलामा छन्। सीतारामसँग सम्बन्धित ती स्थलहरुलाई श्रद्धालुहरुले श्रद्धापूर्वक हेर्छन्।

आज मध्याह्न १२ बजे भगवान् रामको जन्मोत्सवको अवसरमा विधिविधानपूर्वक पूजा अर्चना गरिने, साँझ बधाई गानसहित झाँकी प्रस्तुत गरिने छ।

राम नवमी पर्व मनाउन भारत र नेपालका सयौं साधु÷सन्त जनकपुरधाम आउने गर्छन्। अगस्त्य संहिताअनुसार चैत शुक्ल पक्षको नवमी तिथिका दिन पुनर्वसु नक्षत्र, कर्क लग्नमा जब सूर्य अन्य ५ ग्रहको शुभ दृष्टिका साथ मेष राशिमा रहेको समय माता कौशल्याको गर्भबाट भगवान् श्रीरामको जन्म भएको थियो। 

भारतस्थित चेन्नईको एक गैरसरकारी संस्था भारत ज्ञानले लामो अनुसन्धानपश्चात् रामको जन्म ५११४ ई.पू. १० जनवरीमा भएको दाबी गरेको छ। 

विशेष