कांग्रेस छोडेर रास्वपाबाट तनहुँमा चुनाव लड्दै अर्थशास्त्री स्वर्णिम वाग्ले

कांग्रेस छोडेर रास्वपाबाट तनहुँमा चुनाव लड्दै अर्थशास्त्री स्वर्णिम वाग्ले
अर्थशास्त्री स्वर्णिम वाग्ले तनहुँबाट उपचुनाव लड्ने भएका छन्। वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरेका छन् ।
रास्पका प्रवक्ता मुकुल ढकालले वाग्लेलाई उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । ढकालले आफ्नो दलको तर्फबाट उम्मेदवार वन्न वाग्लेसँग कुरा भइरहेको पुष्टि गरे । ‘स्वर्णिमजीसँग कुरा भइरहेको छ हाम्रो । उहाँले पार्टीमा आबद्ध भएर प्राइमरी इलेक्सनमार्फत् छनोट हुनुपर्ने हुन्छ’ ढकालले भने, ‘हामीले तनहुँमा सरप्राइज दिन लागेका हौं । एक, दुई दिनमा केही आउला ।’
यो कुरा वाहिरिएसँगै वाग्लेलाई रोक्न कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागि परेका छन् । ‘उहाँहरुले भर्खरै बैठक गर्नुभयो, स्वर्णिमजीलाई सानेपा बोलाउनुभएको थियो, तर उहाँ मान्नुभएन’, कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः एकै छिनमा कुनै अर्को ठाउँमा बसेर कुरा गर्नु हुन्छ ।’
वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्नुपर्ने ठानेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकिएको कांग्रेस स्रोतले भन्यो ।
वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।
चितवन– १ का साथै उनको काठमाडौं– ५ मा समेत चर्चा थियो। डा प्रकाशशरण महतले छाडेको उक्त क्षेत्रमा युवा नेताहरु प्रदीप पौडेल र नैनसिंह महरले पनि सुरुदेखि दाबी गरेका थिए। उक्त क्षेत्रमा कांग्रेसको संस्थापन पक्षनिकट नै रहेका विश्व पौडेलले टिकट पाए।
यी दुवै क्षेत्रमा टिकट नपाएका उनलाई काठमाडौं– ४ छाडेर भए पनि प्रतनिधि सभामा उम्मेदवार बनाउने शेखर–गगन समूहको प्रयत्नसमेत देउवाले विफल पारिदिएका थियो। गगन थापाले सर्लाही– ४ बाटसबाट चुनाव लडेर काठमाण्डौं ४ स्वर्णिमका लागि रिजर्भ राखेको सुइँको पाएपछि देउवाले काठमाडौं– ४ को टिकट नैनसिंह महरलाई दिए। त्यसपछि थापा झण्डै टिकटविहीन अवस्थामा पुगे।
त्यसपछि भने वाग्लेलाई उम्मेदवार बनाइछाड्ने संस्थापनइतरको प्रयत्न असफल भयो। कांग्रेस स्रोतका अनुसार सुरुदेखि नै देउवा निकट समूह वाग्लेप्रति अनुदार थियो। खासगरी प्रधानमन्त्री पत्नी आरजु राणा, व्यवसायीहरु विनोद चौधरी, उमेश श्रेष्ठ र योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेलले वाग्लेलाई रोक्न सकेको प्रयत्न गरे।
देउवाले वाग्लेलाई टिकट दिन रुचि नदेखाएको देखिएपछि उक्त पक्षका वाग्लेप्रति सकारात्मक नेताहरुसमेत बोल्न सकेनन्। कुनै समय वाग्ले देउवानिकट नै थिए।
एक समय संयोगले उनी डा शेखर कोइरालासँग कैलालीमा भएको एक कार्यक्रम मञ्च शेयर गर्न पुगे। त्यही घटनालाई देउवाको सचिवालय र स्वार्थ समूहले दूरी बढाउने औजारको रुपमा प्रयोग गरेको वाग्लेनिकट कांग्रेस नेताहरु बताउँछन्।
त्यसपछि देउवासँग प्रत्यक्ष कुराकानीबाट वाग्ले अलग्याइए र पछिल्लो समय शेखर–गगनकै कित्तामा पु¥याइए। वाग्लेको बढ्दो लोकप्रियताले कांग्रेसकै केही नेताहरु झस्किएका थिए। सम्भावित प्रतिस्पर्धीका रुपमा उनलाई हेर्नेहरुले पनि उनलाई टिकटबाट वञ्चित गराउन सघाए।
स्वर्णिम वाग्ले