News

७ जनाको चीतामाथि रञ्जिताको मन्त्रालय यात्रा, सपथ लिने वित्तिकै डिल्लीबजार जेल

७ जनाको चीतामाथि रञ्जिताको मन्त्रालय यात्रा, सपथ लिने वित्तिकै डिल्लीबजार जेल

टीकापुर घटनामा डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरी दर्ता गराएको पार्टीबाट उनकी पत्नि रञ्जिता श्रेष्ठ चौधरी मन्त्री वनेकी छिन् । रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि रञ्जिताको नाममा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन्।

०७८ पुस १९ मा गठन भएको पार्टीको संरक्षकमा उनी आफै वसेका छन् । नागरिक उन्मुक्ति पार्टी गठनको भएको १ वर्षमै सत्ता राजनीतिको एउटा महत्वपूर्ण घटक बन्यो । त्यही घटको नेतृत्व गर्दै श्रेष्ठ संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् ।

गत मंसिर ४ मा भएको संघीय चुनावमा अध्यक्ष श्रेष्ठसहित पार्टीबाट ४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । टीकापुर भएकै क्षेत्र कैलाली–१ बाट श्रेष्ठ कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई १२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएकी थिइन् ।

पार्टीले मात्र होइन अध्यक्ष श्रेष्ठले पनि छोटो समयमै राजनीतिक रफ्तार लिएकी छिन् । श्रीमान् रेशमको राजनीतिक विरासत जोगाउन र टीकापुर घटनामा न्यायका लागि भन्दै दल गठन गरेको १ वर्षमै उनी मन्त्री बनिन। यसअघि श्रेष्ठले उपराष्ट्रपति बन्ने इच्छा पनि देखाएकी थिइन् तर उनलाई उमेरले साथ दिएन ।

२०३९ फागुनमा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी श्रेष्ठ सञ्चार क्षेत्र हुँदै राजनीतिमा आएकी हुन् । रेडियो नेपाल, रेडियो सगरमाथालगायतमा काम गरेकी श्रेष्ठ रेशमले टीकापुरमा खोलेको फूलबारी एफएममा काम गर्न थालेकी थिइन् । २०७२ को टीकापुर घटनामा फूलबारी एएफएममा आगजनी भएको थियो । 

एसएसपीसहित आधा दर्जनभन्दा वढिको हत्या आरोपमा पति जेलपरेपछी उनी राजनीतिमा आईन। श्रेष्ठले आफ्ना श्रीमानको रिहाईलाई सर्त राखेकी छन् । त्यही सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहालले आंशिक सहमति जनाएपछि नागरिक उन्मुक्ति सरकारमा समेत हुने निर्णयमा पुग्यो । पार्टीको त्यही निर्णयको जगमा टेकेर श्रेष्ठ अब संघीय सरकारको मन्त्री बनेकी छन् । मन्त्री बन्ने बित्तिकै डिल्लीबजारस्थित जेलमा रेशम चौधरीलाई भेट्न पुगेकी थिईन। उनी मन्त्री भएपछि टिकापुर घट्नामा ज्यान गुमाएका ७ जनाको चितामाथि चढेर मन्त्री वनेको कतिपयले आरोप लगाएका छन्।

प्रधानमन्त्री दाहालले शुक्रवार मन्त्री परिषद विस्तार गर्दै श्रेष्ठलाई मन्त्री नियुक्त गरेका हुन। कांग्रेसको सिफारिसमा पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत रमेश रिजाल र सीता गुरुङले मन्त्रीका रूपमा शपथ लिए। खड्का उपप्रधानसहित रक्षामन्त्री बनेका हुन् भने महत अर्थमन्त्री बने। रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा गुरुङ सहरी विकास मन्त्री बनेकी हुन्।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई पनि मन्त्रीको शपथ लिएका छन्। उनी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्। यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्रालयबाट गृहमा सरुवा भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री तथा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।

रञ्जिता श्रेष्ठ

विशेष