News

पल शाह बिरुद्ध उच्च अदातल पोखरा अगाडि नारावाजी गर्ने को हुन ?

पल शाह बिरुद्ध उच्च अदातल पोखरा अगाडि नारावाजी गर्ने को हुन ?

अभिनेता पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा गरेको फैसला प्रति असन्तुष्टि जनाउँदै शुक्रवार उच्च अदालत पोखरा अगाडि प्रदर्शन भएको छ।

नाबालिग बलात्कार अभियोगबाट शाहलाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै प्रदर्शन भएको हो। नाबालिग बलात्कार अभियोग लागेका शाहलाई गत आइतबार उच्च अदालत पोखराले सफाइ दिएको थियो।

अदालतको कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिँदा नाबालिगले पठाएको म्यासेजलाई आधार मानेको थियो भने शाहले यौन सम्पर्क गरेको स्वीकार गरेको कल रेकर्डलाई अविश्वास गरेको थियो। 

उक्त नजिरलाई आधार मान्दा भविष्यमा बलात्कारका अन्य अभियुक्तलाई पनि सफाइ दिन सक्ने भन्दै सचेत गराउन प्रदर्शन गरेको अभियन्ताहरूले बताएका छन्। ‘नाबालिगसँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार मानिने कानुनी व्यवस्था छ,’ प्रदर्शनमा सहभागि अभियन्ता सलिजा श्रेष्ठले भनिन्, ‘यस्तो कानूनी आधार हुँदाहुँदै शाहलाई अदालतले सफाइ दियो, यो नजिर हेरेर अरू पीडकले सफाइ नपाऊन्।’

जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा सजाय सुनाएका अभियुक्तलाई त्यो फैसला उल्ट्याउने उच्च अदालतको फैसला गलत भएको अभियन्ता श्रेष्ठले बताइन्। शाहलाई जिल्ला अदालत नवलपुरले बाल यौन दुर्व्यवहारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति भराउने आदेश उच्च अदालतले उल्ट्याएको थियो।
 

पल शाह उच्च अदालत

विशेष