News विदेश

फुटवलर मेस्सीको पारिवारिक व्यवसायमा आक्रमण, मेसीलाई धम्की

फुटवलर मेस्सीको पारिवारिक व्यवसायमा आक्रमण, मेसीलाई धम्की

अर्जेन्टिनाका फुटवलर लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बिहिबार आक्रमण भएको छ। सान्ता फे प्रान्तस्थित रोजारियोमा रहेको सुपर मार्केटमा मोटरसाइकलमा आएका दुई व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन्।

आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द छ। प्रहरीका अनुसार राजधानी ब्यूनस आयर्सबाट करिब १९० माईल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोस्थित मेसीको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा आक्रमण भएको हो।

बन्धुकधारीको आक्रमणमा कुनै पनि मानवीय क्षती नभएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। अर्जेन्टिनी कप्तान एवं सात पटकका विश्व वर्ष खेलाडी ३५ वर्षीय मेसीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको अर्जेन्टिनाकै तेस्रो–सबैभन्दा ठूलो शहर रोजारियोस्थित युनिको सुपरमार्केटलाई किन निशाना बनाए भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले युनिको सुपरमार्केटमा बिहानै आएर कम्तिमा एक दर्जन गोली प्रहार गर्दै कार्बोर्डमा मेसीलाई धम्कीपूर्ण सन्देश समेत छोडेका छन्। ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन,’ आक्रमणकारीले हातले लेखिएको पत्रमा भनिएको छ। 

आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन्। उनले पछिल्ला वर्षहरूमा महत्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकोमा सचेत हुन आग्रहसमेत गरे।

‘मैले पीडितसँग कुरा गरेको छु। उनीहरू धेरै चिन्तित छन्,’ मेयर जाभकिनले आक्रमण भएको सुपरमार्केट बाहिर पत्रकारहरूसमक्ष भने।

मेसीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यसैबीच सान्ता फेका सुरक्षा मन्त्री क्लाउडियो ब्रिलोनीले आक्रमणकारीको उद्देश्यबारे बारे कुनै ठोस अनुमान नभएको प्रतिक्रिया दिएका छन्। 
 

लियोनेल मेसी

विशेष