पिएनजी विरुद्ध नेपाललाई पाँचौं सफलता, दिपेन्द्रले लिए विकेट

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।
दिपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।
पिएनजीले ३८ ओभमा ५ विकेटको क्षतिमा १२६ रन जोडेको छ। त्यसअघि पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रनमा आउट भए। उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे।
सेसे बाउलाई आरिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए। सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो।
सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यी तीनै टिमबीच फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ। लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको ३० खेलबाट २८ अंक जोडेको छ। पुछारको पिएनजीको ३० खेलबाट ५ अंक छ। शीर्ष तीनमा पुग्ने सम्भावना जीवित बनाउन आज नेपालले पिएनजीलाई हराउनु पर्नेछ। एकदिवसीय मान्यता जोगाउन आजसहित ४ खेलमा जित्नु पर्नेछ।