News खेल

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेलीरहेको नेपालले १८० रनको लक्ष्य पाएको छ।

टस जितेर ब्याटिङमा आएको पीएनजीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल खडा ग¥यो । पीएनजीका ओपनर टोनी उराले ३९,  हिरीले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५ र नोर्मन भानुआले १४ रन बनाए। सेसे बाउ र कप्तान असद भालाले समान ११ रन जोडे ।

नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक विकेट लिए । 

शृंखलामा दुवैै टिमको यो तेस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा नेपाल घरेलु टिम यूएईसँग ६८ रनले  पराजित भएको थियो । 

यता, पहिलो खेलमा नेपालसँग पराजित भएको पीएनजीले दोस्रो खेलमा भने यूएईलाई १३१ रनले पराजित गरेको थियो । लिग–२ मा नेपाल ३० खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा छ । समान खेलबाट सात अंक जोडेको पीएनजी अंकतालिकाको पुछारमा छ । यूएई ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रतियोगिताका सबै ३६ खेल खेलेर ५० अंकसहित स्कटल्यान्ड शीर्ष स्थानमा छ । ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताबाट शीर्ष दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

सुपर लिगका शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

विशेष