News खेल

नेपालले हारिसकेको खेल सन्दीप लामिछाने चम्किँदा यसरी जित्यो

नेपालले हारिसकेको खेल सन्दीप लामिछाने चम्किँदा यसरी जित्यो

ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटमा चम्किदा शुक्रवार हारिसकेको खेल नेपालले जितेको छ। दुवैले कीर्तिमानी साझेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई नेपालले ३ विकेटले हराएको छ ।

ब्याटिङमा अत्यन्तै खराव सुरुवात गरेको नेपालका ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । 

इनिङको पहिलो बलमै कुशल भुर्तेल आउट भए। १०५ रन बनाउँदा नेपालले ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । करण केसी र सोमपाल कामीभन्दा अगाडि क्रिजमा उत्रिएका सन्दीपले आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङ गर्दै दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे ।

यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए । १३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए ।

सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो । नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २÷२ विकेट लिए ।

पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एकएक विकेट लेखाएका छन् ।
 

विशेष