News

मातृका यादव भन्छन्– रामचन्द्र पौडेललाई कांग्रेसकै नेताले भोट दिनेमा शंका छ

मातृका यादव भन्छन्– रामचन्द्र पौडेललाई कांग्रेसकै नेताले भोट दिनेमा शंका छ

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई कांग्रेसकै नेताले भोट नदिने वताएका छन् ।

एउटा टेलिभिजनसँग कुरा गर्दै उनले रामचन्द्रलाई कांग्रेसकै सांसदहरूले मत नदिने आशङ्का व्यक्त गरे। ‘उहाँ (रामचन्द्र पौडेल) लाई कांग्रेसी साथीहरूले मत दिन्छन् कि दिँदैनन् ? यो प्रमुख कुरा हो,’ उनले भनेका छन् ।

‘म कांग्रेसी साथीहरूलाई सोध्न चाहन्छु— तपाईंहरूले मत दिनुहुन्छ कि नाइँ’ उनले भनेका छन्–‘कांग्रेससँग सबैभन्दा धेरै मत रहेकाले कांग्रेसी साथीहरू इमान्दार हुनु आवश्यक छ, मलाई अरु दलका साथीमा शंका छैन । कांग्रेसी साथीहरूमाथि शंका छ, तपाईंहरू पहिला इमान्दार हुनूस् ।’

राष्ट्रपतिका लागि २५ फागुनमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आमने–सामने छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार रामचन्द्रलाई कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिलगायतका दलहरूको समर्थन रहँदा सुवासचन्द्रको पक्षमा अहिलेसम्म एमालेमात्रै देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले निर्णय गरिसकेका छैनन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ जना सांसदले मत हाल्न पाउँछन्। प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यहरूले गोप्य रूपमा मतदान गर्न पाउने छन्। ह्पि नलाग्ने भएकाले उम्मेदवारहरू आफूले निर्वाचन जित्नेमा ढुक्क जस्तै छन्।

नेम्वाङलाई क्रस भोटको आशा छ। ‘राष्ट्रपतिको निर्वाचनमा विवेकको मत प्रयोग गर्नुहुन्छ। अहिलेसम्म जति पनि सांसदहरूसँग कुराकानी गरेको छु सकारात्मक प्रतिक्रिया पाएको छु। त्यसैले निर्वाचन जित्नेमा ढुक्क छु,’ उनले भने। 

नेपाली कांग्रेसका नेताहरु भने राष्ट्रपतिमा पौडेल विजयी हुनेमा ढुक्क छन्। ‘हामीलाई निर्वाचन जित्न समस्या छैन’ कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने।

नेपाली कांग्रेस विशेषगरी नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरूसँग सशंकित देखिएको छ। कांग्रेसले पुस १० गते भएको राजनीतिक परिदृश्य ताजै रहेकाले राष्ट्रपति निर्वाचनमा झट्टै विश्वास गर्न सकेको छैन। 
 

मातृका यादव राष्ट्रपति

विशेष