News

दुर्गा प्रसाईको आरोपः हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू बैंक खोलेर लुट्दैछन्

दुर्गा प्रसाईको आरोपः हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू बैंक खोलेर लुट्दैछन्

मेडिकल ब्यवसायी दुर्गा प्रसाईले हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरूले अहिले सहर पसेर बैंक खोलेको आरोप लगाएका छन्।

शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रसाईले सामन्तीहरुले बैंकको नाममा सवैको पैसा लुटेको आरोप लगाए ।

‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन् । मान्छेको घरजग्गा लिलाम गर्दैछन्’ उनले भने–‘पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरू आज बैंकको नाममा सहरमा छिरेका छन् । लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन् ।’

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न पार्टीभित्र आवाज उठाउँदा आफू कारबाही परेको पनि उनले बताए । प्रसाईँले अब गणतन्त्रबाट देश पार लाग्न नसक्ने उल्लेख गर्दै सत्ता राजाको हातमा सुम्पिन नेताहरूलाई चेतावनी पनि दिए।

‘तपाईँहरूबाट पार लागेन । ३४ वर्ष ढाँट्नुभयो । जुन ठाउँबाट सत्ता लिनुभएको थियो । त्यो ठाउँमा सत्ता फिर्ता गर्नुहोस्’ उनले भने–‘हामीलाई तपाईँको घर घेर्नु नपरोस् । इज्जतसँग सत्ता फिर्ता गर्नुहोस् ।’

प्रधानमन्त्री पुष्पकाल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नाम लिँदै उनले सबैलाई विश्राम लिन आग्रह पनि गरे । ‘तपाईँहरू विश्राम लिनुहोस् देश अब हामी चलाउँछौँ । अब हामीले देश चलाउने निर्णय गरिसक्यौँ’– प्रसाईले भने।

पूर्वराजा शाहलाई प्रसाईँले जनताको माझमा आएर देशको जिम्मा लिन पनि आग्रह गरे । ‘तपाई नागरिकको हैसियतले आउनुहोस् जनताका माझमा । राजा बनाउने कि के बनाउने जनताले बनाउने छन् । यो देश तपाईँका जिजुबुवाहरुले बनाएको हो ।’

हिजो राजाले सत्ता छाड्दा २३ अर्ब ऋण र ६० वटा उद्योग कलकारखाना रहेकोमा अहिले ऋण २२ अर्ब पुगेको र सबै कलकारखानाहरु बन्द अवस्थामा रहेको उनले स्मरण गराए । उनले नेताहरूले पैसा दुबईमा पु¥याएर राखेको आरोप पनि लगाए । प्रसाईले केही दिनअघि पूर्वाराजा ज्ञानेन्द्र शाहलाई झापा पुर्याएर महाअभियान सुरु गरेका थिए।

दुर्गा प्रसाई

विशेष