News

उपराष्ट्रपतिमा कसरी चर्चामा आयो महन्थ ठाकुरको नाम ?

उपराष्ट्रपतिमा कसरी चर्चामा आयो महन्थ ठाकुरको नाम ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति वनाउन लविङ सुरु भएको छ। 

२०७४ मा राष्ट्रपति चयन हुँदा पनि उपराष्ट्रपतिका लागि चर्चामा आएका ठाकुर भागबण्डामा उपराष्ट्रपति माओवादीको भागमा परेपछि चुप लागेका थिए। ०७९ सालको चुनावपछि राष्ट्रपतिमै उनको नाम चर्चामा थियो। लोसपाले आधिकारिक निर्णय नै गरेर सबै दललाई भेटेर राष्ट्रपतिका लागि प्रस्ताव गरेको थियो ।

तर महन्थ ठाकुरले दलहरूबाट आश्वासन मात्र पाए । जब यसबारे छलफल भयो, त्यसमा कसैले पनि उनलाई समर्थन गरेनन् । आठ दलीय गठबन्धनबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायो । लोसपाले पनि पौडेललाई नै समर्थन गरेको छ ।

अहिले पुनः उपराष्ट्रपतिमा उनको चर्चा सुरु भएको छ । सामाजिक सञ्जालदेखि लिएर विभिन्न सञ्चारमाध्यममा उनको नाम उपराष्ट्रपतिमा आउन थालेको छ । तर, ठाकुरले स्वयमले भने हालसम्म यस विषयमा केही बोलेका छैनन् ।

सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भने उपराष्ट्रपतिमा महन्थ ठाकुरको चर्चा अनावश्यक रूपमा भइरहेको प्रतिक्रिया दिए । अहिले पार्टीमा वा अन्य ठाउँमा उपराष्ट्रपतिका बारेमा कुनै छलफल नै भएको छैन, तर बेमतलबको चर्चा भइरहेको छ। उनले भने, ‘राष्ट्रपतिका लागि हामी प्रस्ताव गरेका थियौँ । तर त्यसमा सहमति जुटेन । त्यो एपिसोड नै सकियो । उपराष्ट्रपतिको बारेमा अहिले पार्टीभित्र कुनै किसिमको चर्चा छैन ।’

आठ दलीय गठबन्धनमा पनि राष्ट्रपतिबाहेक अरू कुनै विषयमा चर्चा नभएको उनले बताए। ‘त्यहाँ राष्ट्रपतिको मात्र कुरा भयो । राष्ट्रपतिको चुनाव सकेपछि मात्र उपराष्ट्रपतिको विषय प्रवेश हुन्छ,’ उनले भने । 

तर आठ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषय टुंगिसकेको बताइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयम् पनि उपराष्ट्रपति आफ्नो पार्टीले पाउने सहमति भइसकेको प्रतिक्रिया दिइसकेका छन् । काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले पनि उपराष्ट्रपति जसपाको भागमा परेको भन्दै आएका छन् । 

त्यही बीचमा महन्थ ठाकुरको नाम चर्चामा ल्याइएको हो । जसपाले लगभग पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निश्चित गरिसकेको छ । बारा–२ बाट प्रतिनिधि सभा चुनाव जितेका उनलाई राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाएपछि त्यहाँ हुने उपचुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरिएको छ ।
 

महन्थ ठाकुर

विशेष