बौद्ध कलेजका विषयमा ओलीको अभिब्यक्तिप्रति गाउँपालिका अध्यक्षको आपत्ति

मुस्ताङको वारागुङ–५ स्थित फ्लयाकमा बौद्ध कलेज निर्माण गर्ने कार्यले नेपालको राष्ट्रियता खतरामा पर्न लागेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिब्यक्ति दिएपछि गाउँपालिकाका अध्यक्षले त्यसको प्रतिवाद गरेका छन्।
खास गरी कलेज स्थापना गर्ने भनिएको क्षेत्रलाई ‘०३१ सालमा वाङ दी अघि बढाइएको अर्थात खम्पा विद्रोह सुरु भएको निषेधित क्षेत्र’ भन्दै समाचारहरु आएपछि गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले त्यसको प्रतिवाद गरेका हुन।
उनले कलेज स्थापना गर्न लागिएको क्षेत्र निषेधित क्षेत्र नभएको र खम्पा विद्रोह भएको क्षेत्र नभएको बताए। तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेको भन्दै प्रचार गरिएको प्रति उनले असन्तुष्टि जनाए। खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले २०२८ सालमा मुस्ताङका तीन दर्जनभन्दा बढी स्थान विदेशीका लागि निषेधित गरेको थियो।
तर, वारागुङको वडा नम्बर ५ स्थित फ्लयाक गाउँ निषेधित क्षेत्रमा नपर्ने उनको भनाई छ। ‘मुस्ताङ शाक्य बौद्ध संघ’ ले निर्माण गर्न लागेको उक्त कलेज मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न लागिएको उनको भनाई छ। आफनो गाउँमा उच्च शिक्षाका लागि कलेज नभएकाले प्रकृया अगाडि वढाईएको अध्यक्ष गुरुङको भनाई छ।
एमाले अध्यक्ष ओलीले शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका थिए। उक्त योजना राष्ट्रियता माथिको प्रहार भएको उनको भनाई छ।
‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भनेका थिए, ‘२०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’ ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताएका थिए ।
उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ,’ अध्यक्ष ओलीले भनेका थिए ।
उनले उक्त योजना धेरै खतरनाक कुरा भएकाले यसको सन्दर्भमा लड्नुपर्ने र विरोध गर्नुपर्ने बताए। यो अभिब्यक्तिपछि ओलीको आलोचना भईरहेको छ। देशको प्रधानमन्त्री भईसकेको ब्यक्तिले चीनको प्रवक्ता झै अभिब्यक्ति दिनु अशोभनिय भएको जानकारहरु वताउँछन्।
बौद्ध कलेज खम्पा विद्रोह रिङजीन नामगेल गुरुङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका