सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दुई तिहाईभन्दा वढि सांसदले दिए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई भन्दा वढि विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा उनको पक्षमा ४१ मत परेको छ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा भने ११ मत परेको हो ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । २६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सुदूरपश्चिम प्रदेश कमलबहादुर शाह