News

नशामा लठ्ठिएर वेहुली लिन पुगेपछि विवाह रद्द, वेहुला कब्जा गरी दाईजो असुल

नशामा लठ्ठिएर वेहुली लिन पुगेपछि विवाह रद्द, वेहुला कब्जा गरी दाईजो असुल

मादक पदार्थ सेवन गरी वेहुला मातेपछि बारामा विवाह नै रद्द भएको छ। कलैया उपमहानगरपालिका–१० मटिअर्वाका २२ वर्षीय प्रेमचन्द मण्डल र वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलकी किशोरी बीच विवाहको तयारी भएको थियो।

तर जन्ती जाँदा साथीहरुले बेहुलालाई मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि विवाह नै रद्द भएको छ। फागुन १० गते भएको यो घट्ना अहिले सार्वजनिक भएको हो। वुधवार साँझ बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुगेपछि तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

वेहुला नशाले मात्तिएको देखेपछि बेहुली पक्षले विवाह नै रद्द गर्ने निर्णय गरेको स्थानीयले वताए । बेहुला सजिएर जाँदा कसैले पनि उनले नशालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै ¥याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसेको उनीहरु वताउँछन् ।

बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखेका थिए । बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।

भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराई भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । उनले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त भएको जनाईएको छ। 

विवाहका लागि बेहुली पक्षले साढे ५ लाख नगद दाइजो दिएका थिए । नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले जानकारी दिए।

विशेष