कुशल भुर्तेल घाइते, उनको ठाउँ सन्दीपले लिने

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् ।
कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । चोटका कारण उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएका छन् ।
कुशलको स्थान सन्दीप जोराले लिने क्यानले जनाएको छ । यूएईमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई पहिलो खेलमा चार र दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपाल आयोजक यूएईसँग ६८ रनले पराजित भएको थियो ।
कुशलले पीएनजीविरुद्धको पहिलो खेलमा ५६ रन बनाएका थिए भने दोस्रो खेलमा रनको खाता खोल्न सकेका थिएनन् । यूएईविरुद्धको खेलमा कुशलले पाँच रन बनाएका थिए ।
जारी शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यूएईले आज पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।