News खेल

यूएईमाथि नेपालको ऐतिहासिक जित, विश्वकप छनोटको सम्भावना जिवितै

यूएईमाथि नेपालको ऐतिहासिक जित, विश्वकप छनोटको सम्भावना जिवितै

आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको आजको खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । 

 

नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । जितसँगै नेपालले लिग–२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता लिग–२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ। 

अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ।

सोमबार नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको  युएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो। युएईका लागि ओपनिङ ब्याट्सम्यान आसिफ खानले ८२ रन जोडे। ४२ ओभरमा सातौं विकेटको रुपमा खान आउट भएपछि नेपाल जिततर्फ अघि बढेको थियो। उनलाई दिपेन्द्रसिंह ऐरीले आउट गरेका थिए। 

यस्तै आर्यन लक्राले ५० रन जोड्दा वृत्य अरविन्दले १३ रन बटुले। युएईका अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। आर्यन र खानबीच दोस्रो विकेटका लागि ९४ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पु-याएका थिए। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनायो।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए। 

आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए। बलिङमा युएईका जुनइद सिद्धिकीले ३ विकेट लिए भने  रोहान मुस्ताफा र आर्यान लक्राले २–२ विकेट लिए। 

नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ। लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ। अब नेपालले लिग–२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन २ खेलमा जित निकाल्नु पर्छ।

विशेष