News खेल

भीम शार्कीको उत्कृष्ट ब्याटिङमा नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

भीम शार्कीको उत्कृष्ट ब्याटिङमा नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध नेपालले २३० रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२९ रन बनाएको छ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालका लागि भीम शार्कीले उत्कृष्ट ब्याटिङ गरे । मिडिल अर्डर ब्याटरको उत्कृष्ट प्रदर्शनमा नेपालले यूएईलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

भीमले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाए । भीमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएको छ । उनले सातौँ विकेटका लागि आरिफ शेखसँग ५६ रनको साझेदारी गरे । यसअघि उनले छैटौँ किवेटका लागि सन्दीप लामिछानेसँग ५६ रनकै साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।

यसअघि सन्दीप २७ रन आउट भए । सन्दीप र भीमले नेपालको पारी उकासेका थिए । सन्दीप भन्दाअघि नेपालका लागि कुशल मल्ल ३२, ज्ञानेन्द्र मल्ल ११, आशिफ ६, दीपेन्द्रसिंह ऐरी चार र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए ।

१४ रन हुँदा पहिलो विकेटको रूपमा आशिफलाई गुमाएको नेपालले दोस्रो विकेटको रूपमा ज्ञानेन्द्रलाई गुमाएको थियो । त्यसपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पनि सस्तैमा समेटिएपछि नेपाल दबाबमा आएको थियो । ६८ रन हुँदा नेपालले पाँच विकेट गुमाएको थियो ।

यूएईका जुनाइद सिद्धिकले तीन, आर्यन लाक्रा र रोहमन मुस्तफाले समान २–२ विकेट लिए । 

विशेष