News

प्रचण्डलाई कमल थापाको सुझावः भाटाको त्रास होईन, जनतासँग माफी माग्नोस

प्रचण्डलाई कमल थापाको सुझावः भाटाको त्रास होईन, जनतासँग माफी माग्नोस

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भाटे कारवाहीको त्रास नदेखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

अवसर पाउँदा सत्ता सुखसयलमा रमाउने अनि कसैले न्याय पाउँ भनेर आवाज उठाउँदा आक्रोशित हुने र अझै ‘भाटे कारबाही’ को त्रास देखाउनु उचित नहुने उनको भनाई छ।

सरकार र तत्कालीन माओवादीबीच भएको शान्ति सम्झौतालाई विवादास्पद दस्तावेजको संज्ञा दिएका उनले त्यसबेला कायम रहेको राज्यसत्ताको अंग राजसंस्थालाई सम्झौता गर्दा कहीँकतै संलग्न नगराइएकोमा चित्त दुखाएका छन्।

शान्ति सम्झौतालाई नै आधार मान्दा पनि यसले गम्भीर मानवताविरोधी अपराधलाई उन्मुक्ति नदिएको टिप्पणी थापाले गरेका छन् । द्वन्द्वकालमा दुवै पक्षबाट ज्यादती भएको भन्दै उनले त्यही कारण ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’को व्यवस्था भएको उल्लेख गरेका छन् ।

‘गत १५ वर्षमा ४ पटक माओवादीको नेतृत्वमा सरकार बन्यो, केही अपवादबाहेक प्रायः सबै सरकारमा माओवादी सहभागी भयो । तर, सत्यनिरुपण गर्ने र अपराधीलाई कठघरामा उभ्याउने काम कसैबाट भएन,’ उनले भनेका छन्।

माओवादीबाट विनाकारण मारिएकाहरुको सयौँ परिवारले अझै न्याय नपाएको र माओवादी नेतृत्वले क्षमायाचनासमेत नगरेको थापाको टिप्पणी छ । ‘राज्यपक्षबाट भएको भनिएको हत्या र बेपत्ता पारिएका माओवादीका परिवारले पनि न्याय पाएका छैनन्’ उनले सामाजिक संजालमा लेखेका छन्–‘यो अवस्थामा पिडित पक्षले न्यायको लागि अदालत गुहार्नु अन्यथा होइन ।’

सेटिङ र दलहरुको प्रभावमा परेको न्यायालयबाट न्याय पाइन्छ भन्ने विश्वास पनि मर्दै गएका उनले विगतका अनुभवले पनि त्यही भनेको जिकिर गरेका छन्। ‘अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । आफैं सरकार, आफैं विद्रोही नेता हुनुहुन्छ’ उनले लेखेका छन्–‘साहस देखाउनुहोस् । विगतमा भएका मानवताविरोधी अपराधको निम्ति आमजनता र विशेषगरी पीडित परिवारसँग माफी माग्नुहोस् । निष्पक्ष र विश्वसनीय व्यक्तिहरु संलग्न रहेको ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गर्नुहोस् ।’

प्रचण्ड कमल थापा

विशेष