दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टा काम गर्न पाइने

कोरियामा अव दैनिक १३ घण्टा र सातामा ६९ घण्टासम्म काम गर्न पाईने भएको छ। दक्षिण कोरियाली सरकारले सोमवार पेश गरेको नयाँ नियममा काम गर्ने अवधि वढाउने उल्लेख छ।
यसअघि हप्तामा ५२ घण्टा काम गर्न पाउने निमय थियो। अहिले त्यो अवधि परिवर्तन गरेर ६९ घण्टा पु-याउने तयारी भएको समाचार संस्था एएफपीले जनाएको छ ।
कोरियाली सरकारले सोमबार प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको खबरमा उल्लेख छ ।
यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।
सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् ।
नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्नेछ ।
कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झन्डै चार लाख जना कामदारले काम गरिरहेका छन् ।