News

फौजदारी मुद्दालाई पनि यसरी आफु अनुकुल बनाउँदैछन् प्रचण्ड !

फौजदारी मुद्दालाई पनि यसरी आफु अनुकुल बनाउँदैछन् प्रचण्ड !

चुनौतीलाई अवसरमा बदल्न सक्ने क्षमता भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफु विरुद्ध सर्वोच्चले मुद्दा दर्ता गर्न आदेश दिएपछि त्यसलाई पनि आफु अनुकुल वनाउने योजना अघि सारेका छन्।

यही मौकामा टुक्राटुक्रा भएका माओवादी धारका नेतालाई फेरी आफु अन्तर्गत नै गोलवन्द गर्न चाहालले चाल सुरु गरेका छन्। यही योजना अनुसार आज १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका पार्टीहरूको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ।

वैठकमा द्वन्द्वकालीन मुद्दा, पछिल्लो समय दाहालविरुद्ध दायर भएको रिट, रिट दर्ता गर्नू भन्ने सर्वोच्च अदालतको आदेश र पार्टी एकताका विषयमा छलफल हुने जनाईएको छ। अप्ठ्यारो अवस्थालाई देखाएर यही अवस्थामा पार्टी एकता गर्न सके माओवादी पुनः पुरानै अवस्थामा फर्किने र समस्यासँग जुध्न पनि सजिलो हुने दाहालको वुझाई छ।

यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु दाहाल, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए। सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए। 

दाहालले एउटा सार्वजनिक कार्यक्रममा नै युद्धकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मृत्युको जिम्मा आफूले लिने बताएको र सोही आधारमा उनीमाथि अनुसन्धान हुनुपर्ने जिकिर रिटमा गरिएको छ। 

सर्वोच्च अदालत प्रशासनले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको रिट पछि सर्वोच्च अदालतको इजलासले दर्ता गर्नू भनि आदेश दिएको थियो। जसअनुसार रिट दायर भइसकेको छ। माओवादी केन्द्रले एक विज्ञप्ति नै जारी गरेर रिट दर्ता गर्नू भन्ने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ। द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित रिटलाई दर्ता गर्ने अदालतको आदेश न्यायिक पुनरावलोकनको सिद्धान्त विपरीत भएको पनि माओवादीले उल्लेख गरेको छ। 

बैठकमा माओवादी केन्द्र, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, माओवादी समाजवादी पार्टी लगायतका नेताहरु सहभागी हुने जनाइएको छ। 

पुष्पकमल दाहाल

विशेष