News

अध्यागमनले रविलाई चोख्यायो, राहदानी दुरुपयोग नभएको दावी

अध्यागमनले रविलाई चोख्यायो, राहदानी दुरुपयोग नभएको दावी

राहदानी दुरुपयोगको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अध्यागमन विभागले सफाई दिने प्रयास गरेको छ। विभागले सरकारी वकिलको कार्यालयलाई लेखेको पत्रमा लामिछानेले पछिल्लो पटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको जवाफ दिएको छ ।

दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको छ। ‘रवि लामिछानेले दोहोरो राहदानी लिएको हो तर दुईवटै राहदानी एउटै समयमा प्रयोग भएको भेटिएन।’–स्रोतले भन्यो।

सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको थियो । लगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका थिए।

त्यसपछि लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी विभागमै बुझाएका थिए । नेपाली नागरिक नै नरहेका लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै रिट निवेदन दायर गरेका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी समेत दिएका थिए ।

प्रहरी प्रशासनले सर्वोच्च अदालतको सांसद पद खारेज गरिदिने फैसलाको पूर्णपाठ प्राप्त नभई सफलको उजुरी लिन अस्वीकार गरेको थियो । उजुरी लिन अस्वीकार गरेपछि सफलले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रहरी प्रशासनविरुद्ध निवेदन दायर गरेका थिए । 

वकिल कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई रवि लामिछानेको नागरिकता तथा राहादानीको विषयमा प्रश्न गर्दै पत्राचार गरेको थियो । सोही क्रममा अध्यागमनले लामिछानेले ०७२ जेठ १३ मा प्राप्त गरेको राहदानी प्रयोग गरी विदेश प्रस्थान गरेको नपाइएको जवाफ सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

त्यस्तै जिल्ला प्राशासन कार्यालयको पत्रमा ०५१ साल फागुन १० गते लामिछानेले वशंजको नागरिकता प्राप्त गरेको र २०७९ माघ १५ गते नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरि नागरिकता लिइसकेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको थियो ।

प्रहरी प्रशासनले भने लामिछानेविरुद्ध राहदानीको विषयमा छानबिन भइरहेको जानकारी दिएपछि सरकारी वकिल कार्यालयले सफलको लामिछानेविरुद्धको उजुरी फेरि लिनुनपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । 

स्रोतका अनुसार प्रहरी प्रशासनबाट यही महिनाभित्रै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । त्यसपछि सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध विरुद्ध राहादानी कसुरमा मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न सक्ने जनाईएको छ।

लामिछानेले २०७० साल फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने ०७५ असार १५ गते अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा गरेको उनको दावी छ। ०७२ साल असार १३ गते उनले कायमै नरहेको नेपाली नागरिकताको विवरणसहित नेपाली राहदानी प्राप्त गरेको पाइएको थियो । 

यो पनि,

रवि लामिछाने राहदानी

विशेष