News

भोलीको तयारीः रामचन्द्र पौडेलको तस्बिर ‘भाइरल’ 

भोलीको तयारीः रामचन्द्र पौडेलको तस्बिर ‘भाइरल’ 

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलको कपडा सिउने पसलमा कैद गरिएको तस्बिर यसरी भाइरल भएको हो।

तस्विरमा सुचिकारले कपडाका लागि नाप लिइरहँदा ढाकाटोपीमा रहेका नेता पौडेल मुस्कुराइरहेका देखिन्छन्। उक्त तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘भोलिको तयारी’ भन्दै शेयर गरिरहेका छन्।

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिका लागि निर्वाचन गर्दैछ। उनी राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित जस्दै भएपछि दौरासुरुवाल सिलाउने तयारीमा लागेको धेरैले अनुमान गरेका छन् ।

उनको सचिवालयले भने तस्बिर अहिलेको नभएर पुरानो भएको दाबी गरेको छ। सचिवालयका अनुसार उक्त तस्बिर मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि कैद गरिएको हो।

मुलुकले बिहीबार बेलुकी नै नयाँ राष्ट्रपति पाउने भएको छ। पूर्वसभामुखद्वय पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कुनै एक जना तेस्रो राष्ट्रपति बन्नेछन्।

बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ। राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
 
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।

७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ। 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ। 

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ। 

यो पनि,

रामचन्द्र पौडेल राष्ट्रपति

विशेष