News

राष्ट्रपतिबारे राप्रपामा दुई धार, मतदान गर्ने/नगर्ने कस्तो होला निर्णय?

राष्ट्रपतिबारे राप्रपामा दुई धार, मतदान गर्ने/नगर्ने कस्तो होला निर्णय?

राष्ट्रपति निर्वाचन बारे पार्टीको धारणा वनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वस्दैछ। दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक वस्दैछ। 

बैठकमा राष्ट्रपति निर्वाचनमा मत दिने वा नदिनेबारे निर्णय हुने छ। राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन् । राप्रपा राजावादी दल भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्क केही नेताहरूको छ ।

तर गणतन्त्र स्वीकारेर राष्ट्रपतिबाट मन्त्रीको शपथसमेत खाइसकेकाले राष्ट्रपतिको चुनावमा भाग लिनुपर्ने तर्क गर्ने नेताहरु पनि राप्रपाभित्र छ । पछिल्लो समय एमालेसँग नजिक भएर काम गरिरहेको राप्रपाले राष्ट्रपति चुनावमा पनि उसलाई सहयोग गर्न सक्ने अनुमान थियो । तर मनोनयन दर्ताका क्रममा राप्रपा कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक बसेन ।

विकसित राजनीतिक घटनाक्रम हेरेर आवश्यक निर्णय लिइने नेताहरूले बताउँदै आएका छन् । कांग्रेस र एमाले दुवै दलका नेताहरूले राप्रपालाई आफूतिर तान्न प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म राप्रपाका नेताहरु कतै खुलेका छैनन्।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ । मतदान हुनुभन्दा एक दिनअगाडि राप्रपाले राष्ट्रपति चुनावबारे निर्णय लिन लागेको हो । 
 

राप्रपा राष्ट्रपति निर्वाचन

विशेष