News

प्रचण्डविरुद्ध रिट दर्ता गरेका आरणलाई यस्तोसम्म धम्की, प्रहरी खटाएर निगरानी

प्रचण्डविरुद्ध रिट दर्ता गरेका आरणलाई यस्तोसम्म धम्की, प्रहरी खटाएर निगरानी

माओवादी सशस्त्र पीडित ज्ञानेन्द्रराज आरणसहित २४ जना द्वन्द्वपीडितले २३ फागुनमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरे। तर, रिट दर्ता गर्न ज्यानकै बाजी लगाउनु परेको उनले गुनासो गरेका छन्।

रामेछाप, मन्थलीका आरणका बुबा टिकारामलाई द्वन्द्वकालमा माओवादीले हत्या गरेका थिए। न्यायका लागि रिट दर्ता गर्न खोज्दा धम्कीका कारण ज्यान बचाउन लुकी–लुकी हिँड्नुपरेको उनको भनाई छ। उनीहरूले दर्ता गर्न खोजेको रिट सर्वोच्च प्रशासनले २४ कात्तिकमा दरपीठ गरिदिएको थियो। त्यसपछि रिट लिएर उनीहरू इजलासमै पुगे। शुक्रबार १९ फागुनमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दियो।

त्यसपछि रिट दर्ताको तयारीमा लागेलगत्तै आफूलाई नेपाली कांग्रेसका नेताहरूले समेत अदालत नजान दबाब दिएको उनको गुनासो छ। कांग्रेस नेताले घुमाउरो रूपमा धम्कि समेत दिएको उनले वताए। ‘सादा पोसाकका प्रहरी आफ्नो पछाडि खटाएर त्रसित बनाइए’ उनी भन्छन्–‘रिट निवेदन दर्ता गर्न पाउने बाटो खुलेदेखि नै धम्क र चेतावनी आउन थालेपछि मोबाइल फोनसमेत बन्द गरेर बसें।’

बुबाको हत्यामा संलग्नलाई कारबाहीको मागसहित द्वन्द्वपीडितको न्यायका लागि लड्दै आएका आरणले प्रहरीले निरन्तर निगरानी गरेको थाहा पाएपछि आफु सचेत भएको वताए। ‘मेरा शुभचिन्तक नागरिक समाज र मानवअधिकारवादी साथीहरूले म कहाँ छु के गर्दै छु भनेर निगरानी गरेको सुनाउनु भएको थियो’ उनले थपे–‘प्रहरीले मेरो लोकेसन ‘ट्रेस’ गरेको थाहा पाएको छु। त्यहीबेला अनावश्यक फोन आइरहेकाले म मोबाइल बन्द गरेर बसेँ। अझै मोबाइल खोलेको छैन। प्रहरीले मेरो खोजी गर्नुपर्ने, मेरो पिछा गर्नुपर्ने कारण के हो, मैले बुझेको छैन। यसले मलाई सचेत त बनायो तर, म विचलित भएको छैन।’

आफ्ना बुवालाई नेपाली कांग्रेसका साधारण कार्यकर्ता रहेका बेला माओवादीले हत्या गरेको उनको भनाई छ। ‘हामी अहिले पनि कांग्रेसमा आस्था राख्छौँ। अहिलेको गठबन्धनमा कांग्रेस पनि संलग्न छ। मैले आस्था राख्ने पार्टी, नेपाली कांग्रेसका नेताहरूले मलाई रिट निवेदन दर्ता नगर भनेर दबाब दिनु भयो’ उनले भने–‘उहाँहरूले न्याय मिल्छ, अहिले नै रिट निवेदन दर्ता नगर भन्नु भएको थियो। उहाँहरूलाई अरूले के सुनाएका थिए म जान्दिनँ। तर, मलाई न्याय चाहिएको छ।’

कांग्रेसी भएपनि आफुले न्यायका लागि रिट दर्ता गरेको आरणले वताए। ‘हामीले व्यक्तिगत घटनाका आधारमा रिट निवेदन दिएका हौँ। यसमा पार्टीलाई जोडेका छैनौँ। जोड्न आवश्यक पनि छैन। हामीले त यसमा द्वन्द्वपीडितको संगठित संस्थालाई समेत जोडेका छैनौँ’ आरणले थपे–‘हाम्रा लागि कोही नबोलेका कारण हामी फेरि संघर्षमा उत्रिएका हौँ। हामीलाई पार्टीसँग जोड्न मिल्दैन।’

कांग्रेस नेता रमेश लेखक, जिल्लाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) लगायतले भेटेरै रिट निवेदन दर्ता नगर भनेको उनले सुनाए। उनीहरूले पार्टीलाई जोडेर रिट निवेदन दिएको हो कि भन्ने आशंका गरेको आरणको भनाई छ। ‘त्यसो होइन भनेपछि उहाँहरूले कुनै प्रतिक्रिया दिनु भएन। रिट निवेदन सार्वजनिक सरोकारको विषय पनि थियो। मैले कुनै अपराध गरेको छैन। म डराएको छैन’ उनले भने–‘मैले समग्र पीडितको प्रतिनिधिमूलक आवाज मात्रै बाहिर ल्याएको हुँ। मेरो बुबालाई मारेको हुँ भन्ने छुट प्रचण्डलाई छैन। प्रचण्ड कानुनमाथि छैनन्। उनलाई कानुनी कठघरामा ल्याउनु पर्छ।’

कांग्रेसका नेताहरूलाई माओवादीसँग मिलेर सत्ता पाउनु, सत्तामा टिकिरहनु पर्ने भएकाले आफुलाई दवाव दिएको उनको वुझाई छ। ‘माओवादीसँग मिलेर भागबन्डा गर्दै शक्तिमा बसिरहनु छ। त्यसैले हामी पीडितलाई न्याय पाउने हकबाट वञ्चित गर्ने कोशिशमा उनीहरू लागेका छन्’ उनले भने–‘एउटा पनि पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा मिलीजुली सरकार पनि चलाउनुपर्ने बाध्यता छ। माओवादीसँग बाँडिचुँडी सत्ता र शक्तिको उपभोग गर्नका लागि प्रचण्डविरुद्धको हाम्रो रिट निवेदन दर्ता गर्न नदिने प्रयासमा कांग्रेस नेताहरू नै लागे।’

माओवादी नेताहरूले प्रत्यक्ष भन्दा पनि घुमाउरो पारले धम्की दिईरहेको उनको भनाई छ। गोरखा क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई यही विषयलाई लिएर माओवादी कार्यकर्ताले कुटपिट गरेको उनले वताए। ‘यस्ता घटनाले हामीलाई झन् दुःखी बनाएको छ। दुवाडीको बुवालाई पनि माओवादीले हत्या गरेका हुन्।’

यो पनि,

पुष्पकमल दाहाल प्रचण्ड रिट ज्ञानेन्द्रराज आरण

विशेष