News

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन यी महिलाले बनाए नयाँ इतिहास

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन यी महिलाले बनाए नयाँ इतिहास

दुबईबाट काठमाडौँ अवतरण गरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ‘ए’ ३२० जहाजका महिला विमान चालकलाई सरकारले स्वागत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर महिला विमान चालक दललाई स्वागत गरेका हुन् । विमानमा पाइलट भावना पन्त र को–पाइलट सृजना रावतसहितसबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी हाल छ जना महिला पाइलट छन् ।

किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए। महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे ।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।
 

विशेष