पपुवा न्यु गिनीविरुद्ध नेपालको सानदार जित
नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको छ । २ सय ९८ रनको लक्ष्य लिएर आएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २ सय ४५ अलआउट ग¥यो ।
टोनी उरा र किप्लिन डोरिगाले ११ ओभर भित्र ७६ रन जोडि पपुवा न्यु गिनीलाई सानदार सुरुआत दिलाएका थिए । डोरिगालाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालले पहिलो सफलता दिलाए । डोरिगाले ३४ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।
दीपेन्द्रले नै सेसे बाउलाई ३ रनमा आउट गरे । ओपनर टोनी उराले ४४ बल खेल्दै ९ चौका प्रहार गरि ५० रन बनाए । चार्ल्स अमिनी १४, हिरी हिरी ८, चाड सोपर शुन्य, रिले हिकुरे २० र एलेइ नेओ २ रनमा आउट भए ।
नोर्मन भानुआ आउट हुने अन्तिम खेलाडी थिए । उनले ५५ बल खेली ३ चौका र ४ छक्का प्रहार गरी ६० रन बनाए । नेपालबाट सन्दीप लामिछानेले ४ र दीपेन्द्रले २ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३७ र दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चे । कुशल मल्लले १ विकेट लिनेक्रममा १० ओभरमा ६० रन खर्चे । पपुवा न्यु गिनीका ३ खेलाडी रनआउट भए ।
यसअघि आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाए पछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो ।
आसिफले १ सय १० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाएको थियो । तीन साता अघि नामिबियाविरुद्ध लिग २ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ८७ रन बनाउदै विजय लक्ष्य पुरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।
१ सय १ बलमा शतक पुरा गरेका आसिफले कुल १ सय १० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।
आफ्नो इनिङ्समा ९० रन बनाएपछि आसिफ एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका हुन् ।
आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठुलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।
नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारि हो । आसिफले नेपालबाट सर्वाधिक ८ अर्धशतक बनाइसकेका छन् । कुशल ४५ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । कुशलले ५६ बल खेली ६ चौका प्रहार गरे ।
कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए । आसिफ ३८ औं ओभरमा आउट भए । दीपेन्द्र ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे । एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए ।
नेपालको इनिङ्समा आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे । उनले ३८ बल खेली ४ चौका प्रहार गरे । सेमो कामिआले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन खर्चे । हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।