News

वामपन्थी राजनीति छाडेर कांग्रेसमा होमिएका रामचन्द्र यसरी बने राष्ट्रपति

वामपन्थी राजनीति छाडेर कांग्रेसमा होमिएका रामचन्द्र यसरी बने राष्ट्रपति

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचन एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नेता पौडेल ०१७ सालसम्म वामपन्थी राजनीतिमा सहभागि थिए। राजा महेन्द्र शाहले ०१७ सालमा कु गरेपछि उनी वामपन्थी विद्यार्थी राजनीति छाडेर कांग्रेसमा लागेका हुन । पौडेलले राजनीतिक बन्दीका रूपमा पटक–पटक गरी १३ वर्ष जेल बसेका छन्।

०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए। ०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आमनिर्वाचनमा उनी गृहजिल्ला तनहुँ १ बाट निर्वाचित भएका थिए । त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट छ पटक सांसद निर्वाचित भए ।

पौडेल प्रतिनिधिसभाको सभामुख र उपप्रधानमन्त्री बनिसकेका छन् । कांग्रेसको महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिसम्मत भएका पौडेल १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

लामो राजनीतिक जीवनमा सभामुखबाहेक मुलुकको कार्यकारी पदमा पुग्न सकेका थिएनन् । ०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सम्हालेसँगै पौडेलको राजनीतिक जीवनले विश्राम लिनेछ । पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन् ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा छन् ।

पौडेल ०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

यो पनि,

राष्ट्रपति रामचन्द्र पौडेल

विशेष