मेसी र एम्बाप्पेसहित स्टार खेलाडी रहेको पिएसजी च्याम्पियन लिगबाटै आउट

जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै बायर्न म्युनिख क्वाटरफाईनलमा पुगेको हो।
बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै फ्रेन्च क्लब पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ। गएराति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नसँग २–० को हार व्यहोरेको हो। यो सँगै समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरियो।
घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएको पिएसजीले दोस्रो हाफमा गोल खाएको थियो।
खेलको ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई सुरूआती अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यतिर ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको जित पक्का गरे।
यो सँगै स्टार खेलाडीले भरिपूर्ण लिग लिडर पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ।
यता ६ पटकको युरोपेली च्याम्पियन बायर्नले पहिलो लेगमा लिएको एक गोलको अग्रता तथा केलियन एम्बाप्पे र लियोनेल मेसीको आक्रमण जोगाउँदै सानदार जित निकालेको हो।
प्रतियोगिताको अन्तिम आठको ड्र आगामी मार्च १७ मा स्विट्जरल्याण्डको न्योनमा हुँदैछ।
बायर्न म्युनिख पिएसजी युइएफए च्याम्पियन्स लिग