News

ओलीलाई गगन थापाको ओठे जवाफः ०८४ पछि सहकार्य सम्भव छ

ओलीलाई गगन थापाको ओठे जवाफः ०८४ पछि सहकार्य सम्भव छ

कांग्रेससँग सत्ता सहकार्य हुन सक्ने केपी शर्मा ओलीको भनाई लगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्यसको जवाफ फर्काएका छन् । उनले वि.सं. २०८४ सालअघि नेकपा (एमाले)सँग सहकार्य हुन नसक्ने बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा उनले अहिले नै एमालेसँग सहकार्य सम्भव नहुने बताएका हुन् । ‘एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला’ थापाले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला ।’

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै उनले कांग्रेसलाई अवमूल्यन नगर्न आग्रह गरे । ‘पटक–पटक झुक्याउन सकिँदैन’ उनले भने–‘हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु।’

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए । ओलीले ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने’ बताएका थिए।

कांग्रेस र एमाले मिल्दै नमिल्ने भनेर कसम नखाएको भन्दै राष्ट्रपति निर्वाचनपछि दुई ठूला दलको सहकार्य हुन सक्ने उनको संकेत थियो।

यो पनि,

गगन थापा

विशेष