News

ओली जत्तिकै योगदान भएका एमाले नेता खरेलले पार्टी छोडे

ओली जत्तिकै योगदान भएका एमाले नेता खरेलले पार्टी छोडे

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली जत्तिकै योगदान भएका नेता नरेश खरेलले पार्टी छोडेका छन्। एमालेको दशौँ महाधिवेशनबाट पाखा लागेका खरेल ओलीसँगै १४ वर्ष जेल परेका थिए।

पछिल्लो समय एमाले सल्लाहकार परिषदमा रहेका खरेलले सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर पार्टी छोडेको घोषणा गरेका हुन। खरेलसँगै एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ र हिरासहित १० जना नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन्।

चितवनमा भएको महाधिवेशनमा खरेललाई ओलीले पाखा लगाएका थिए। ओलीले तयार पारेको पार्टी कमिटिको सूचीमा नपरेका खरेल त्यसयता असन्तुष्ट थिए। 

गत फागुन १९ गते ओलीको गृहजिल्ला झापाका पाँचजना एमाले नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका थिए। पार्टीप्रति १८ बुँदे असहमति प्रस्तुत गर्दै एमाले झापा जिल्ला कमिटीकी उपसचिव चन्द्रकला श्रेष्ठसहित पाँच नेताले एमाले परित्यागको घोषणा गरेका थिए। श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयरसमेत थिइन्। 

पार्टी छाड्ने अन्यमा एमाले प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका सदस्य हवालो दिन मियाँ र बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रमिह मियाँ थिए।

खरेल ओलीसँगै १४ वर्ष जेल बसेका थिए। उनी २०३३ सालमा नख्खु जेल ब्रेकरका रुपमा पनि चर्चित छन्। खरेल र ओलीबीच २०५४ सालदेखि विवाद छ। ओलीले आफूविरुद्ध बोलेको आरोप पनि खरेलमाथि लगाइरहेका छन्। तर खरेलले २०५४ सालमा आफू उम्मेदवार हुँदा हुँदै ओलीले अर्को नेता उठाएको आरोप लगाएका छन्। 

मंसिर ४ को चुनावअघि एमाले छाडेका घनश्याम भुसाल अहिले पूर्वी नेपालको यात्रामा छन्। समाजवादी महासचिव रहेका भुसालसँग झापामै भएको वार्तापछि खरेल अब उक्त पार्टीमा प्रवेश तयारी गर्दैछन्। 

खरेलकी पत्नी पवित्रा निरौला खरेल यसअघि एमालेकी सांसद थिइन्। उनी नेपालबाहिर रहेकाले एमाले छाड्ने नछाड्ने निर्णय गरिसकेकी छैनन्। यसअघि शनिबार मात्रै एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन्। उनी एमाले फर्किने तयारीमा छन्। 

विशेष