News

दुर्गा प्रसाई र ढाकाकुमारको अडियो बारे सरकारले छानविन गर्ने

दुर्गा प्रसाई र ढाकाकुमारको अडियो बारे सरकारले छानविन गर्ने

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएका छन्।

आज चितवनमा गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धान गरिने बताए। जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनको भनाई छ। ‘दुई करोडको कुरा आएको छ। अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’– श्रेष्ठले भने। 

अडिओको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने पनि उनले बताए। रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू मन्त्री बन्नका लागि २ करोड रुपैयाँ आवश्यक परेकाले त्यसको व्यवस्था गरिदिन अनुरोध गरेको अडिओ कुराकानी आइतबार सार्वजनिक भएको थियो।

अडिओमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’ले मन्त्री बन्ने भए आफूलाई २ देखि अढाई करोड बुझाउन भनेको दाबी गरेका छन्। सोही पैसा जुटाइदिन उनले दुर्गा प्रसाईंसँग आग्रह गरेका छन्। 

यता, रास्वपाको अनुशासन समितिले पनि त्यो विषय छानविन गर्ने बताईएको छ। रास्वपा विधानमा ११ सदस्यीय अनुशासन समितिको परिकल्पना गरिएको भएपनि हालसम्म भरतमणि देवकोटाको नेतृत्वमा चार सदस्यीय अनुशासन कमिटी मात्र छ ।

सोही समितिले दिएको प्रतिवेदन अनुसार पाटीले श्रेष्ठमाथि लागेको अभियोगको छिनोफानो गर्नेछ । अध्यक्ष लामिछानेले ७२ घण्टाभित्र त्यसलाई टुङ्गोमा पुयाउने बाचा गरेका छन् । ‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान्, मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घन्टाभित्र छानबिन सकिन्छ ।’

रास्वपाको अनुशासन समितिले पनि सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण साधेको छ । अडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि छानबिन त सुरु भएको छ, तर यो प्रकरणले भ्रष्टाचारको विरोध गर्दै उदाएको पार्टीको प्रतिष्ठामा समेत उपचुनावको मुखमा आँच ल्याएको पार्टीका नेताहरुले बताएका छन् ।

रास्वपाका एक केन्द्रीय सदस्यले चाहिँ सभापतिको ‘कोर टिम’ भनेको को को हुन् भन्ने विषयबारे पनि छानबिन हुनुपर्ने बताए । ‘आफ्ना अर्काको नभनी निर्मम छानबिन हुनुपर्छ । श्रेष्ठको मात्र होइन, कोर टिमबारे पनि अनुसन्धान हुनुपर्छ’, उनले भने ।

ढाकाकुमार श्रेष्ठ दुर्गा प्रसाई

विशेष