News

टिपताल नाका सञ्चालनका लागि प्रचण्डसँग गाउँपालिका अध्यक्षको गुहार!

टिपताल नाका सञ्चालनका लागि प्रचण्डसँग गाउँपालिका अध्यक्षको गुहार!

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले चीनसँग जोडिएको टिपताल नाका सञ्चालनको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग हार गुहार गरेको छ।

गाउँपालिकाले चैत २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पक्राचार गरी उक्त नाका खुलाउनका लागि सहजिकरण गरिदिन गुहार मागेको हो। गाउँपालिका अध्यक्ष राजन लिम्बूले नाका बन्द भएका कारण उत्तरी सीमाका बासिन्दाले कष्ट पाएको गुनासो गरे।

अध्यक्ष लिम्वुले हस्ताक्षर गरेको पत्रमा ‘नाका बन्द भएपछि स्थानीय बासिन्दा आर्थिक संकटमा परी जीविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रूपमा बढेको’ जस्ता समस्या उल्लेख गरिएको छ।

अध्यक्ष लिम्बूका अनुसार कोरोना महामारीको वहानामा चीनले बन्द गरेको नाका नखुल्दा पशुपालन, जडीबुटी संकलन, गलैंचा उत्पादनमा संलग्न सीमावर्ती ओलाङचुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दालाई जीविकोपार्जनमा समस्या परेको छ ।

यस क्षेत्रका वासिन्दा गलैचा, उन, छुर्पी, घ्यु, आलु–जौ लगायतका ब्यापार गरेर आफनो जिवन गुजारा गर्दै आएका छन् । तर, यो वा त्यो बहानामा द्विदेशीय आउजाउका नाका बन्द भएपछि भने उनिहरुको जिवन कष्टकर भएको छ। अध्यक्ष लिम्वुका अनुसार यहाँका बासिन्दा नुनतेलका लागि पनि समस्यामा छन्।

‘टिपताला नाका बन्द भएपछि हाम्रो बिजोग भएको छ,’ याङ्माका ५० वर्षीय पुन्जो शेर्पा भन्छन्–‘चार वर्षदेखि तिब्बत जान पाइएको छैन, पारि जान नपाएपछि गरिखान गाह्रो भयो । गाउँलेले गाउँ छाड्न थालिसके ।’

अध्यक्ष लिम्वुले गत साउन २९ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा समेत पत्राचार गरेर सीमा नाका सञ्चालनका लागि आग्रह गरेका थिए। तर सुनुवाई नभएको उनको भनाई छ। 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले टिपताला नाका बन्द गरिएपछि स्थानीयले बेहोरेको कठिनाइबारे उल्लेख गर्दै नाका खोल्ने पहलका लागि फक्ताङलुङ गाउँपालिकाको पत्रसहित गृह मन्त्रालयमा लेखिपठाएको जानकारी दिएको छ।

फक्ताङलुङ गाउँपालिका टिपताल नाका

विशेष