News

अश्लील हर्कत गर्ने सांसद खानबिरुद्ध उनकै पार्टी कार्यालय अगाडि प्रदर्शन

अश्लील हर्कत गर्ने सांसद खानबिरुद्ध उनकै पार्टी कार्यालय अगाडि प्रदर्शन

राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गर्ने जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।

निवर्तमान मन्त्री खानले एक महिलासँग गरेको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालमा आएपछि अभियानले उनलाई सांसद पदबाट निलम्वन गर्न माग गरेको हो ।

खानलाई कारवाही गर्नका लागि काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय अगाडि अभियानले प्रदर्शन समेत गरेको छ। 

सोमवार भएको प्रदर्शनमा ‘अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई–बर्खास्त गर, अश्लील सांसद अब्दुल खान–मुर्दावाद, संसदको गरिमासँग खेलवाड गर्ने सांसद–राजीनामा दे, अश्लील सांसद–राजीनामा दे, सीके राउत–होसमा आउ, अश्लील सांसदलाई–कार्यवाही गर, अश्लील सांसद खानको संरक्षक सीके राउत–मुर्दावाद’ जस्ता नारा लगाईएको छ।

अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साहले नेतृत्व गरेको प्रदर्शनमा राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो। उपाध्यक्ष साहले निवर्तमान मन्त्रीको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको जिकिर गरिन।

यसअघि अभियानका अध्यक्ष विनय यादवले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सांसद खानलाई निलम्बन गर्न माग गरेका थिए। खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन उनले माग गरेका थिए।

‘सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य छैन’, ज्ञापन पत्रमा भनिएको छ, ‘सांसद खानको हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ ।’

खानेपानी तथा सरसफाई मन्त्रीबाट राजिनामा दिएको केहि दिनमै जनमतका सांसद खानको अश्लील भिडिओ सार्वजनिक भएको थियो। अपरिचित यूवतीसंग भिडियो कलमा अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि सांसद खानको व्यापक आलोचना भइरहेको छ ।
 

विशेष