News

चुनावकै मुखमा भिडियो सार्वजनिक गरिएकोमा रवि लामिछानेको असन्तुष्टि

चुनावकै मुखमा भिडियो सार्वजनिक गरिएकोमा रवि लामिछानेको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफना सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक भएपछि ‘चुनावको मुखमा भिडियो किन सार्वजनिक गरियो ?’ भन्दै उल्टो प्रश्न गरेका छन्।

उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा लामिछानेको असन्तुष्टि छ। ‘यो यतिबेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन,’ लामिछानेले  भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिंडेको छु ।’

चितवनमा चुनावी सभालाई सम्वोधन गर्दै लामिछानेले पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पु¥याउने क्षमता आफूहरुसँग रहेको पनि बताए । अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताए । ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ’ उनले भने–‘अख्तियारमा म आजै निवेदन दिन्छु ।’

विश्वासका आधारमा पार्टीमा कयौं व्यक्तिहरु जोडिएको र कतिपयको पृष्ठभूमि थाहा नभएको लामिछानेले बताए । ‘कसको के छ, विगतमा थाहा थिएन, आउन सक्ला । आएको खण्डमा कारबाही गर्दै अघि जाने हो’, लामिछानेले भने, ‘अरु पनि केही छन् भने अहिले नै आउन्, चुनावकै अघिल्लो दिन आउन् । चुनावकै दिन आउन् ।’

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

रवि लामिछाने

विशेष