News विदेश

सार्वजनिक समारोहलाई लक्षित गरी सेनाले गरेको हवाई आक्रमणमा ५० जनाको मृत्यु

सार्वजनिक समारोहलाई लक्षित गरी सेनाले गरेको हवाई आक्रमणमा ५० जनाको मृत्यु

एउटा सार्वजनिक समारोहमा भेला भएका स्थानीयलाई लक्षित गरी म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा ५० जनाभन्दा वढिको मृत्यु भएको छ। मृत्यु हुनेमा कम्तीमा १५ जना महिला र बालबालिका समेत छन् ।

पीपल्स डिफेन्स फोर्स (पीडीएफ) को नयाँ कार्यालयको उद्घाटन समारोहमा जम्मा भएका गाउँलेहरुलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको जनाई छ। यो आक्रमण दुई वर्ष अघि भएको सैन्य कू पछिको सवैभन्दा ठुलो हो।

सेनाले आक्रमण गरेको सागेइङ क्षेत्रसैन्य कू विरोधीहरूको केन्द्र मानिन्छ। उक्त क्षेत्रको पाजिगी शहरमासेनाले मंगलबार विहान हवाई आक्रमण गरेको स्थानीय तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्।

म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ‘आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौंको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते र ठूलो संख्यामा पक्राउ परेका छन् ।

यसबीचमा दस लाखभन्दा धेरै मानिस विस्थापित भएको जनाईएको छ। 

म्यानमार हवाई आक्रमण

विशेष