दुर्गा प्रसाई र ढाकाकुमार प्रकरणमा अख्तियारले थाल्यो अनुशन्धान

२ करोड घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच २ करोड लेनदेनको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो।
ढाकाले स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले अढाई करोड मागेको भन्दै प्रसाईसँग दुई करोड दिन आग्रह गरेको अडियो सार्वजनिक भएको थियो । मिलेर काम गर्ने भन्दै उनले घुस मागेको अडियो आएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम श्रेष्ठमाथि अनुसन्धान अघि बढाएको हो ।
यो प्रकरणमा सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारले जनाएको छ। अख्तियारका एक अधिकारीले भने, ‘मन्त्री बन्न आफ्नै दलको नेतृत्वलाई पैसा बुझाउनुपर्ने भएको र रकम जोहो गरिदिन एक सांसदले मेडिकल व्यवसायीलाई गरेको अनुरोधलाई नोटिसमा लिएर आयोगले अनुसन्धान अघि बढाएको छ ।’
सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन गरेको वा प्रयास गरेको विषय भ्रष्टाचारजन्य कसुरमा पर्ने उनले वताए। अख्तियारका अनुसार सञ्चारमाध्यममा आएका विषयलाई सार्वजनिक उजुरीका रूपमा ग्रहण गरिँदै आएको छ।
यसअघि अख्तियारले यस्तै अडियोका आधारमा आफ्नै आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
घूस संवादबारे सोमबार प्रतिनिधि सभाको वैठकमा समेत कुरा उठेको छ। कांग्रेस सांसद धनराज गुरुङले घूस प्रकरणमा मुछिएका सांसद श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
नेमकिपाका सांसद प्रेम सुवाल, एमालेका ऋषिकेश पोखरेल, कांग्रेसकी ईश्वरी न्यौपानेलगायतले पनि घूस संवादबारे विस्तृत छलफलको माग गरे । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले घूस प्रकरणमा आफ्ना सांसद श्रेष्ठमाथि पार्टीले छानबिन अघि बढाएको जानकारी गराएका छन।
रास्वपाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र यो विषय टुङ्गोमा पुर्याउने बताएका छन्। पार्टीले श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधेपनि निर्धारित समयमा उनको स्पष्टिकरण आएको छैन। यो विषयमा श्रेष्ठलाई कारबाही गर्ने विषयमा गम्भीर मतभेद देखिएको छ।
यो पनि,
- मेयरको सपना त्यागेर सांसद बनेका ढाका, मन्त्री किन्ने योजनामा प्रसाईसँग यसरी मिल्यो टाँका
- दुर्गा प्रसाई र ढाकाकुमारको अडियो बारे सरकारले छानविन गर्ने
- कसरी सार्वजनिक भयो दुर्गा प्रसाई र ढाकाकुमारको ‘२ करोड’ को अडियो ?
- डा. गोविन्द केसीको मृत्यु पर्खेर वसेका छन् रवि लामिछानेका सांसद!
- को–को छन् रविका लागि पैसा उठाउने कोर टिममा ?
- ढाकाकुमार भन्छन्– अडियो मेरो होईन, दुर्गा प्रसाईलाई म चिन्दा पनि चिन्दिन
- घुस प्रकरणले रवि नै चुनाव हार्ने भएपछि श्रेष्ठ निलम्विन, चुनावपछि फुकुवा
- यस्तो छ रास्वपा र दुर्गा प्रसाईको कनेक्सनः २ करोड माग्ने सांसद निलम्वित