News

स्वर्णिम वाग्लेको दावीः मालदार मन्त्रालयमा १०औं करोडको डिल हुन्छ

स्वर्णिम वाग्लेको दावीः मालदार मन्त्रालयमा १०औं करोडको डिल हुन्छ

तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्न ठिक परेका डा स्वर्णिम वाग्लेले अब कुनै पनि सर्तमा नेपाली कांग्रेसमा नफर्कने वाचा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको टिकट पाएपछि उनले अव रास्वपा नछाड्ने बताए। 

बिहीबार मात्र कांग्रेस त्यागेको घोषणा गरेका वाग्लले शनिबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव हारे पनि रास्वपा नछाड्ने बताए। ‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्नँ। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु। पत्रकार सम्मेलनमा वाग्लेले भने।

वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउँदै पैसाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए। पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको बताएका उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए।

सरकारका मन्त्रालय करोडौंमा लेनदेन हुने गरेको उनको आरोप छ। ‘अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन। हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ?’ उनले भने–‘मालदार मन्त्रालयमा त १०औं करोडको डिल हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ?’

डा वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे। उनले आफूपछि फर्किने नभई अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको दाबी गरे। पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गरे। चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको उनले तर्क गरे ।
 

विशेष