News

गुण्डा नाइके चक्रे मिलनको स्कर्टिङमा ‘एके ४७’ सहित खटिएका बोगटी पक्राउ

गुण्डा नाइके चक्रे मिलनको स्कर्टिङमा ‘एके ४७’ सहित खटिएका बोगटी पक्राउ

गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को ‘एके ४७’ हतियारसहित स्कर्टिङमा खटिएका गणेशबहादुर बोगटी पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिका, नौवस्ताका बोगटीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको हो। चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई स्कर्टिङ गर्न बोगटी हटियारसहित खटिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो।

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले चक्रेलाई हतियारसहित स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेका कार्यकर्ता हुन। स्रोतका अनुसार उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको थिए।

बोगटीले बोकेको हतियारको जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । प्रयोजनका लागि र कहिले उनले हतियार लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको बाँकेका एसपी सन्तोष सिंह राठौरले वताए।

चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२÷०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो ।

दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो समय उनी राजनीतिमा छिरेका छन्। गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन्।

अधिकांश गुण्डा नाईके अहिले राजनीतिको आडमा आफनो सुरक्षा गरिरहेका छन्। दिपक मनाङे त गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर पटक पटक मन्त्री समेत बनिसकेका छन् ।

चक्रे मिलन

विशेष