News

गठवन्धनका अन्य दललाई थाङ्नामा सुताएर लडाकुलाई पैसा बाँड्दै प्रचण्ड

गठवन्धनका अन्य दललाई थाङ्नामा सुताएर लडाकुलाई पैसा बाँड्दै प्रचण्ड

सत्ता गठवन्धनका अन्य दललाई थाङ्नामा सुताएर प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीका ‘अयोग्य लडाकू’लाई २ लाख रुपैयाँ बाड्न लगभग तयारी सकेका छन् । पैसा बाँड्ने कार्यविधि तयार भईसकेको र एक महिनाभित्र पैसा दिन थाल्ने उनको योजना छ।

चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई–दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। सोही निर्णय अनुसार पैसा वितरणका लागि कार्यविधि तयार भइसकेको छ गृह मन्त्रालय श्रोतले जनाएको छ। 

सरकारको निर्णय पछि अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो। त्यसपछि नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो विषयमा प्रश्न सोधेको थियो।

चैत ८ गते  सत्ता गठबन्धनका नेताहरूको बैठकमा लडाकुलाई पैसा बाँड्न लागेको विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले त्यस्तो निर्णय नभएको बताएका थिए। अहिले भने मन्त्रिपरिषद्ले रकम दिन कार्यविधि बनाउन गरेको निर्णय आएपछि आफूले त्यहीअनुसार काम गरेको गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जानकारी दिए।

सिंहका अनुसार अनमिनले अयोग्य प्रमाणित गरेका ४००८ जनाको नाम गृह मन्त्रालयसँग छ। ती नाम भएका व्यक्ति सम्बन्धित जिल्ला वा पालिकामा छन् कि छैनन् भनेर अब जिल्ला प्रशासन कार्यालयले प्रमाणित गर्ने छन्।

कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था छ। राज्यकोषमा सञ्चित रकमको चरम अभाव भएका बेला करोडौं रकम बाँड्न खोज्नु, माओवादी मन्त्री मात्रै भएका वेला र प्रस्ताव तयार गर्ने गृहमन्त्रालयको नेतृत्व आफैसँग भएका वेला प्रधानमन्त्रीले यस्तो निर्णय गराउनुले गठवन्धनमा खटपट हुने बाटो बनाएको कतिपयले वताएका छन्।

द्वन्द्वप्रभावित विभिन्न पक्षमध्ये एउटा पक्षलाई मात्रै लाभ हुने गरी यसरी निर्णय आउँदा अर्को पक्षलाई अन्यायमा परेको महसुस हुने र सरकार संकटमा पर्ने उनीहरुको भनाई छ।

यो पनि,

माओवादी लडाकु अयोग्य लडाकु

विशेष