News

किन संयुक्त पत्रकार सम्मेलन गर्दैछन् रास्वपाका यी ‘तीन भाइ’

किन संयुक्त पत्रकार सम्मेलन गर्दैछन् रास्वपाका यी ‘तीन भाइ’

तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेल चुनाव लड्न तयार भएपछि रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सभापति लामिछानेसहित तीनै जनाले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन।

रास्वपाबाट चितवन–२ मा पुनः लामिछाने, बारा–२ मा रमेश खरेल र तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार वन्ने निश्चित भएको छ। उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ। 

रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी ३ भाइको पत्रकार सम्मेलन, भोलि (शनिबार) ४ बजे (अपराह्न)।’

पूर्वडीआईजीसमेत रहेका खरेल राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष हुन् भने अर्थविद्समेत रहेका डा. वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन्। 

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपचुनाव गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पद पूर्ति गर्न लागिएको हो। 
 

विशेष