News

सगरमाथामा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु

सगरमाथामा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो ।

सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीनै जना शेर्पा आरोहीको मृत्यु भएको जनाईएको छ।

बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो । 
 

सगरमाथा

विशेष