News राजनीति

गोविन्दराज जोशीलाई फकाएर उपनिर्वाचन जित्ने देउवाको योजना असफल

गोविन्दराज जोशीलाई फकाएर उपनिर्वाचन जित्ने देउवाको योजना असफल

असन्तुष्ट गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ। तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै सभापति देउवा र महामन्त्री गगन थापाले जोशी समुहलाई फकाउने प्रयास गरेका थिए।

तर, जोशी समूहले अहिलेका वार्ता समाप्त भएको घोषणा गरेको छ। देउवाले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने नीति लिएको जोशी समुहले बुधबार विज्ञप्ति निकालेर जनाएको छ। नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं।’

कांग्रेसको गत चैत १९ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट जोशीलगायत तनहुँ, चितवन र बारामा २०७९ को चुनावअघिका चुनावमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूको कारबाही फुकुवा गरेको थियो।

त्यसपछि कांग्रेस र जोशी समूहबीच वार्ता भइरहेका छ। जोशीका छोरा दीपकराजले केहि दिनअघि सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानीसमेत गरेका थिए।

वैशाख १० मा हुने उपनिर्वाचनमा जोशी समूहले उम्मेदवारी नदिएकोले मतदाता मतदान गर्न स्वतन्त्र रहेको पनि गोविन्दराज बताउँछन्। जोशीले मतदान गर्दा सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गरेर मतदान गर्न पनि आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

जोशी नेपाली कांग्रेस स्वतन्त्र अभियानमार्फत् राजनीतिमा क्रियाशील छन्। सम्मानजनक भूमिका पाए कांग्रेसमै सक्रिय भएर काम गर्न जोशी तयार थिए। 

कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झिएको जोशी समूहको बुझाइ छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि अहिले उपनिर्वाचन हुन लागेको हो। तनहुँमा पौडेल र जोशी समूहबीच लामो समयसम्म टकराब रहेको थियो।

उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्। वाग्ले हालै मात्रै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका हुन्। गगन निकट मानिएका नेता वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि देउवाले तनहुँ १ को चुनावी जिम्मेवारी सुम्पिएर पठाएका छन्।

गोविन्दराज जोशी

विशेष