News

चीनको निम्तो अस्विकार गरेर भारतको निम्तो कुर्दै प्रचण्ड !

चीनको निम्तो अस्विकार गरेर भारतको निम्तो कुर्दै प्रचण्ड !

प्रधानमन्त्री पुष्पकमल दाहालले पद सम्हालेको तेस्रो दिन (पुस १२ गते) आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए । यसबीचमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आएर भ्रमणको अनौपचारिक निम्तो पनि दिए । तर, भ्रमणको मिति भने अझै टुङ्गो लागेको छैन।

पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने निधो गरेका उनले अर्को छिमेकी देश चीनले बोआओ फोरम एसिया सम्मेलनमा सहभागी हुन दिएको निमन्त्रणमा पनि अस्विकार गरे।

१० फागुन ०७९ मा चिनियाँ राजदूत छन् सोङ् प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका थिए। १४–१७ चैत हुने बोआओ फोरम फर एसिया चीनको हेनानमा हुँदै थियो । तर, प्रधानमन्त्री दाहालले बोआओ फोरम बहिष्कार गरेर निम्ता नै नआएको भारत भ्रमणको तयारीमा लागेका थिए ।

यसअघि २०६५ को पहिलो कार्यकालमा चीनबाट विदेश भ्रमण सुरु गरेका दाहालले भारतबाट अपेक्षाकृत सहयोग पाएनन्। दोस्रोपटक २०७३ मा भारतबाटै विदेश भ्रमण सुरु गरेपनि अपेक्षित विषयहरु उठाउन नसकेको टिप्पणी भयो। त्यसैले उनी यस पटक भारतबाटै भ्रमण सुरु गर्न चाहान्छन्। तर, नाटकीय ढंगले फेरिएको सत्ता समीकरण र राजनीतिक खिचातानीका बीच प्रधानमन्त्रीको भारत भ्रमणमा भइरहेको ढिलाइलाई कूटनीतिक क्षेत्रमा पेचिलो विषयका रुपमा हेरिएको छ ।

दुई पक्षबीच भ्रमणबारे छलफल चले पनि मितिमा अझै सहमति भएको छैन । प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालय र अन्य निकायलाई भ्रमणको तयारी गर्न निर्देशन दिएको छ भने परराष्ट्र पनि नियमित कार्यकै रुपमा तयारीमा जुटिरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएपछि ड्राफ्ट गरेर प्रधानमन्त्री कार्यालयले तयारी थाल्ने एक सचिवालय सदस्यले बताए । भारत भ्रमणमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहजीकरण, टिंकर नाका सञ्चालन, विद्युत् व्यापार, नेपाल र भारतबीच लामो समयदेखि रोकिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, हुलाकी सडक, व्यापार घाटा, लिपुलेकलगायतको सीमा विवादलगायत विषयमा गृह कार्य थालिएको छ । 

तर, वैशाख १० को प्रतिनिधिसभा उपनिर्वाचनको प्रक्रिया सुरु भइसकेकाले वैशाख पहिलो साता पनि प्रधानमन्त्रीको भारत भ्रमण हुने सम्भावना कम हुँदै गएको छ। भारतको कर्नाटक राज्यमा वैशाख २७ गते चुनाव हुँदै छ । त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तता बढ्ने भएकाले उपनिर्वाचनलगत्तै दाहालको भ्रमण नभए थप ढिलाइ हुने सम्भावना छ ।

पुष्पकमल दाहाल विदेश भ्रमण

विशेष