News विदेश

५० करोड डलर क्षतिपूर्ति माग्दै ट्रम्पले आफ्नै पूर्व वकिलविरुद्ध हाले मुद्दा

५० करोड डलर क्षतिपूर्ति माग्दै ट्रम्पले आफ्नै पूर्व वकिलविरुद्ध हाले मुद्दा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ५० करोड डलर क्षतिपूर्तको माग गर्दै आफ्नै पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन्। पूर्व वकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्।

एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्रहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप उनले लगाएका छन्। बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको मुद्दामा कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र मिडियामार्फत आफ्नो बारेमा अफवाह फैलाकएको ट्रम्पको आरोप छ।

कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धबारे चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधीन छ।

कोहेनले ‘डिसलोयलः अ मेमोयर’ नामक आफ्नो पुस्तकमा ट्रम्प नश्लवादी नेता भएको आरोप लगाएका थिए। उक्त पुस्तकमार्फत उनले ट्रम्पका कतिपय गोप्य विवरण पनि सार्वजनिक गरेका थिए।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन्। ‘कोहेन विचलित हुनेछैनन्, तथ्य र कानूनमाथि हामीलाई विश्वास छ, मुद्दा असफल हुनेछ,’ कोहेनका वकिलले भनेका छन्।

कोहेनले दशकभन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए। उनी ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो। 

तर सन् २०१६ को निर्वाचनपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो।

सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो।

सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक बनेका थिए। 

विशेष