News

जनयुद्द दिवसका विषयमा ओली र प्रचण्डबीच बालुवाटारमै भनाभन

जनयुद्द दिवसका विषयमा ओली र प्रचण्डबीच बालुवाटारमै भनाभन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ घोषणा फागुन १ गते सार्वजनिक विदा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ। खास गरी एमाले अध्यक्ष केपी शर्मा ओली जनयुद्ध दिवसलाई ‘हिंसा दिवस’ को संज्ञा दिएर त्यसको आलोचना गरिरहेका छन्।

यही विषयमा गत मंगलवार विहान बालुवाटारमा दाहाल र ओलीबीच भनाभन समेत भएको खुलासा भएको छ। सभामुख देवराज घिमिरेले बालुवाटारमा दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई वैठकमा बोलाएका थिए।

बैठकको सुरुआतमै ओलीले ‘हामी हिंसा दिवस मान्दैनौँ। पहिला त्यो हिंसा दिवसको निर्णय खारेज गर्नुस्। अनि मात्रै अरु अजेण्डामा छलफल गरौँ’ भनेपछि दाहालले ‘तपाईंकै दल समेत सहभागी सरकारले निर्णय गरेको होइन र? तपाईंहरू पनि उक्त सरकारमा सहभागी हुनुहुन्थ्यो त!’ भन्दै जवाफ दिएका थिए।

त्यसपछि ओलीले ‘मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गर्दैछ भनेर मसँग सोध्नुभयो? मसँग त यस बारेमा तपाईंले केही भन्नुभएको थिएन’ भनेपछि दाहालले ‘तपाईंसँग सल्लाह गरेकै थिएँ त। जनयुद्ध दिवसलाई पनि कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्छ भनेर मैले जानकारी दिएको होइन र?’ भने।

जवाफमा ओलीले ‘एमालेका मन्त्रीहरूलाई जानकारी नै दिनु भएनछ। एक्कासी निर्णय हुन लागेपछि विरोध गर्दागर्दै उक्त निर्णय गराउनु भएछ। एमालेका मन्त्रीहरूले यो विषयमा छलफल गर्नुपर्छ, अहिले हुँदैन भन्दाभन्दै पनि तपाईंले केपी शर्मा ओलीसँग कुरा भएको छ भन्नु भएछ। जनयुद्ध दिवसलाई बिदा दिने कुरा त भएकै थिएन।’ भनेपछि दाहालले भने ‘त्यो निर्णय जानकारी दिएरै भएको हो।’ भनेको एक सहभागिले वताए।

दुई नेताबीच नोकझोक बढ्न थालेपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरूले थामथुम पारेका थिए। उनीहरूले मूल विषयमा प्रवेश गर्न आग्रह गरेपछि उनीहरू थामिएका थिए।
 

जनयुद्द दिवस

विशेष