श्रीमतीका बारेमा प्रश्न उठेपछि रवि फायरः ‘कायरहरु उस माथि खनिएका छन्’
कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौड्याल विरुद्ध लेखिएका समाचार र पोष्टहरु नहटाए कानूनी प्रक्रियामा जाने धम्की दिएका छन्। उनले वुधवार राती सामाजिक सञ्जाल मार्फत यस्तो धम्की दिएका हुन।
रास्वपाका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग गरिएको भनिएको अडियोमा उनले पटक–पटक कोर टिमको उल्लेख गर्दै मन्त्री बन्न २ करोड रूपैयाँ मागेका थिए। प्रसाईले एउटा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले भनेको कोरो टिममा उपसभापति डालप्रसाद अर्याल, दिपक बोहोरा र रविकी श्रीमती निकिता पौडेल लामिछाने रहेको भन्दै दावी गरे।
सोही आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार पनि आए। तिनै समाचारलाई लक्षित गरी लामिछानेले धम्की दिएका हुन्। ‘एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्’ उनले लेखेका छन्–‘बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’
आफू मन्त्री बन्नका लागि लामिछानेको कोर टिमले आफूसँग २ देखि अढाई करोडसम्म मागेकाले आफूलाई उक्त पैसाको बन्दोबस्त गर्न भन्दै ढाकाले अडिओमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अनुरोध गरेका छन्।
उक्त प्रकरणका कारण रास्वपाले ढाकालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी सांसदबाट समेत हटाईसकेको छ। तर ढाकाले आफूलाई अन्याय भएको भन्दै कोर टिमका विषयमा सार्वजनिक रुपमा वोल्ने चेतावनी दिइरहेका छन्।
ढाकालाई कारबाही गरिए पनि अडिओमा सभापति रविको नामसमेत जोडिएकाले उनीविरुद्धको आलोचना पनि रोकिएको छैन। त्यसमा उनकी पत्नी निकिताको पनि भूमिका रहेको शंका गर्दै मानिसहरूले टिप्पणी गरिरहेका छन्।
उनले आफ्ना कारण पत्नी निकिताले सहनुपरेको परेको बदनामी र तनावप्रति उनले आरोप लगाउनेहरूका तर्फबाट क्षमा पनि मागेका छन्। ‘पिर नगर, हामी यो घेराबन्दी तोड्नेछौँ, हामी जित्नेछौँ।’– उनले लेखेका छन्।