News

बैशाख तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाँदै, मिति तोक्न बाँकी

बैशाख तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाँदै, मिति तोक्न बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री पुष्पकमल दाहाल बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको निम्तो दिएको स्रोतले जनाएको छ।

राजदूत श्रीवास्तव अघिल्लो साता दिल्ली गएका थिए । उनले त्यहाँ प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाएको जनाईएको छ। दाहाल भ्रमणमा जाने निश्चित मिति भने तय भएको छैन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ । 

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ ।  एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति बनाउने विषयमा असमझदारी भएपछि दाहालले एमालेसँगको गठबन्धन तोडेका थिए । राष्ट्रपति निर्वाचनका बेला दाहाल नेपाली कांग्रेससँग नजिकिएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएपछि दाहाललाई अहिले कांग्रेसको समर्थन रहेको छ । राष्ट्रपति निर्वाचन, फेरिएको सत्ता गठबन्धन, मन्त्रिमण्डलको पूर्णतालगायतका आन्तरिक समस्याका कारण प्रधामन्त्री दाहालको भारत भ्रमण ढिला भइरहेको थियो । 

भारतले समेत आन्तरिक समस्या हल भएपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण गराउने भन्दै उचित समय पर्खिरहेको थियो । सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति पक्का गरेको हो । 
 

विशेष