News

कांग्रेसमा मिल्यो भागबण्डा, को को हुँदैछन् मन्त्री ?

कांग्रेसमा मिल्यो भागबण्डा, को को हुँदैछन् मन्त्री ?

मन्त्रीको भागवण्डामा कुरा नमिलेर चिसिएको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता शेखर कोईरालाको सम्वन्ध सुधार हुने दिशामा लागेको छ। मन्त्री भागबण्डामा सहमति भएपछि दुई नेताबीच सम्वन्ध सुधारको अपेक्षा गरिएको हो।

सभापति देउवाले मन्त्री छनोटमा पेलेर जान खोजेपछि शेखर कोइराला–गगन थापा समूह असन्तुष्ट थियो । शेखर–गगन समूहले मन्त्रीको नाम नपठाएपछि चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट चार जनाले मात्र शपथ लिए।

उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ सरकारमा सहभागि छन्। गठबन्धनमा भएको मन्त्रालय भागबण्डा अनुसार कांग्रेसबाट थप ४ मन्त्री र एक राज्यमन्त्रीको शपथ चैत १७ मा आन्तरिक विवादकै कारण रोकियो ।

कांग्रेसको भागमा परेका परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छन्। नेपाली कांग्रेसका सभापतिले आज–भोलि नै मन्त्रीको नाम पठाउने संकेत गरेका छन्।

यसबीचमा सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका थिए । देउवाले तीन मन्त्री र एक राज्यमन्त्री दिने संकेत गरेपछि बिहीबार बिहान शेखर–गगन समूहको बैठक बसेको थियो । बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति देउवासँग छलफल भइरहेको ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई ९ मन्त्री र एक राज्यमन्त्री दिन तयार भएपछि शेखर–गगन समूहलाई तीन मन्त्री दिन सभापति देउवालाई केही सहज भएको देखिन्छ । सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ ।

बाँकी मन्त्रालयमा शेखर कोइराला–गगन थापा पक्षले ३३ प्रतिशत हिस्सा पाएपछि विवाद किनारा लागेको जनाईएको छ। नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, दिपक गिरी, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता प्रदीप पौडेललाई मन्त्री बनाउन लबिङ गरेको कांग्रेस वृत्तमा चर्चा छ । 

विशेष