स्टुडेन्ट भिसामा जापान जान सरकारको रोक, एनओसी नै नदिने

सरकारले स्टुडेन्ट भिसामा जापान जान रोक लगाएको छ। शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै जापान जाने धेरैको सपना तुहिएको छ।
नयाँ निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएपछि जापान जाने योजनामा रहेकाहरुको बाटो बन्द भएको हो ।
एनओसी शाखा प्रमुख बासुदेव वस्तीले चैत १९ गतेदेखि उच्च शिक्षा परिभाषित गरिएभन्दा बाहेकलाई एनओसी दिन छाडिएको बताए । कक्षा १२ पास गरेको तर स्नातक तह अध्ययनका लागि योग्यता कम पुगेकाले एनओसी नपाउने उनको भनाइ छ ।
सरकारसँग निर्देशिका सच्याउन माग गर्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको उनले बताए । शैक्षिक परामर्श क्षेत्रका ८ वटा संघ संस्थाले शिक्षामन्त्रीलाई यसबारे ज्ञापन पत्रसमेत बुझाएका छन् । उनीहरूले शिक्षामन्त्री अशोक राईसँग छलफल गर्न समय मागेका छन् । तर, मन्त्रीले समय नदिएको महासचिव भुसालले बताए ।
जापानमा प्रत्येक वर्ष १० हजारको हाराहारीमा नेपाली विद्यार्थी पढ्न जाने गरेका छन्। गत वर्ष १० हजारभन्दा बढी स्टुडेन्ट भिसामा जापान गएका थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६ हजार ७०० जनाले जापान पढ्नका लागि एनओसी लिएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ नेपाली विद्यार्थीका लागि जापान प्रमुख गन्तव्य बनेको थियो । कोरोना महामारीकाबीच जापानमा ८ हजार १४६ नेपाली जापान गएका थिए ।
जापानले आफ्ना कलेज तथा विश्वविद्यालयमा पढ्नु अगाडि जापानिज भाषा परीक्षा अनिवार्य गरेको छ । जापानिज भाषामा पढाइ हुने कारणले जापानले भाषा अनिवार्य गराएको हो ।
नेपालबाट जाने विद्यार्थीहरू उता गएर १ देखि २ वर्ष भाषा कोर्ष पढेर त्यसमा पास भएपछि मात्र कलेज तथा युनिभर्सिटीमा पढ्न पाउने गरेका छन् । तर, निर्देशिकाले भाषा कोर्षका लागि एनओसी जारी गर्न रोक लागेसँगै विद्यार्थीहरूको जापान जाने सपनामा तत्कालका लागि ब्रेक लागेको हो । जापानले रिसर्च तथा पीएचडी कार्यक्रमका लागि भाषा अनिवार्य गराएको छैन । त्यो बाहेकका लागि भने भाषा पास गरेरमात्र पढ्न पाइने उनको भनाइ छ ।